श्री बाल जीवन ज्योति माध्यमिक विद्यालय

मनहरी गाउँपालिका-१,मकरी,मकवानपुर

ज्ञान नै शक्ति हो

गुणस्तरीय शिक्षा, अनुशासित विद्यार्थी, उज्ज्वल भविष्य

हामी विद्यार्थीहरूको बौद्धिक, मानसिक र शारीरिक विकासका लागि प्रतिबद्ध छौँ।

जरुरी सूचना: यस विद्यालयको पूर्व विद्यार्थी समाजको आयोजनामा शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू तपसिलअनुसार सञ्चालन हुन गइरहेकोले सम्पूर्ण विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ। 📅 मिति: २०८३/०५/११ गते 🎨 कक्षा १–३: चकलेट रेस 🪑 कक्षा ४–५: म्युजिकल चेयर 🎨 कक्षा ६–८: चित्रकला 🎤 कक्षा ९–१२: वक्तृत्वकला 🌱 अतिरिक्त कार्यक्रम: बोटबिरुवा हस्तान्तरण।
विद्यालय परिचय

श्री बाल जीवन ज्योति माध्यमिक विद्यालय

समाज विकासको क्रममा शिक्षा मानिसको लागि अभिन्न अंग रहेकोले सबै जातजाति, पिछडिएको जनजाति, दलित, सिमान्तकृत चेपाङ सम्म शिक्षाको पहुँच पुर्याउने उद्देश्य अनुरुप वि.सं. २०१९ सालमा यहाँका स्थानिय बुद्धिजिवि, समाजसेवी तथा शिक्षा प्रेमीहरूको सक्रियतामा बागमती प्रदेश (साविक नारायणी अंचल) मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडाबाट पश्चिम तथा पर्सा वन्य जन्तु आरक्षको क्षेत्र भित्र पर्ने राप्ती नदी सँगको सिमानामा जोडिएको मनहरी गाउँपालिका वडा नं. १ (साविक हाँडीखोला गा.वि.स. वडा नं. २) मकरीमा स्थानीय समुदायका व्यक्तिहरूले छाप्रो बनाई वि.सं. २०१९ साल देखि नै राम मन्दिर बगैंचा मन्दिरको जग्गा परिसर भित्र पठन पाठन सुचारु गर्न कोदो, मकै जस्ता अन्न मुठी दान अर्थात् चन्दा स्वरुप संकलन गरी व्यय भारको सङ्कट टार्दै कक्षा संचालन गरेको पाइन्छ। मनहरी-१, चकरी (साविक हाँडीखोला-१) निवासी शिक्षा प्रेमी स्व. श्री लक्ष्मण प्रसाद कँडेल ज्यूको सक्रिय सहभागिताबाट वि.सं. २०१९ सालमा प्रा.वी.को जन्म भयो र यस विद्यालयलाई अनौपचारिक रुपमा संचालन गर्न गराउन शिक्षा प्रेमी स्व. श्री लक्ष्मण प्रसाद कँडेल र स्व. पहलराज कप्रौला ज्यूबाट स्वीकृत प्राप्त गर्न गराई पठन पाठन संचालन गरियो। हाल यस विद्यालय रहेको जग्गा मिति वि.सं. २०१० साल चैत्र रामनवमीको दिन श्री राम बगैंचा मन्दिरको नाममा तपसिल व्यक्तित्वहरूले जग्गा दान गर्नुभएको थियो।

तपसिल

  1. श्री देवी प्रसाद गुनी
  2. बम्बुशंकर बर्तौला
  3. श्री डण्डपानी पराजुली
  4. श्री नन्दलाल चिमरिया
  5. श्री इन्द्रनन्द चिमरिया
  6. श्री विर बहादुर बखती
  7. श्री कृष्ण प्रसाद गुनी
  8. श्री देवी प्रसाद बर्तौला
  9. श्री डम्बर बहादुर लटौला
  10. श्री जेठा अर्याल बाजे
  11. श्री कान्छा अर्जेल बाजे
  12. श्री कृष्ण बहादुर गुनी

यसैगरी वि.स. २०५९ सालमा यस विद्यालयको नाममा तपसिल व्यक्तित्वहरूले जग्गा दान गर्नुभएको थियो।

तपसिलः

क्र.सं. दाता जग्गाको क्षेत्रफल
श्री साहिली उप्रेती ०-३-०
श्री प्रेमनाथ उपाध्याय ०-१-०
श्री हर्क बहादुर पराजुली ०-१-०
छायाँ देवी खड्का ०-१-०
श्री हेम प्रसाद घिमिरे ०-०-१०
श्री कान्छि माया बस्नेत ०-०-१०

भौगोलिक अवस्था

सदरमुकाम हेटौंडा देखि १६ कि.मि. पश्चिम श्री निर्मल मा.वि. बस्तिपुर देखि ६ कि.मि. दक्षिण तर्फ रहेको यस श्री बाल जीवन ज्योति मा.वि. को पूर्वमा चकरी खोला पश्चिम च्यापल खोला उत्तर राप्ती नदी दक्षिण गोगनपानीले घेरेको यस विद्यालयको चारैतिर गाँउहरु छन् ।

विद्यालयमा रहेको समुदायको बनोट

यस सेवा क्षेत्रभित्र बसोबास गर्ने तामाङ्ग, चेपाङ, क्षेत्री, व्राह्मण, कामी, दमई जाती नै मुख्य बासिन्दाका रुपमा रहेकाहरु परम्परागत सोच र चिन्तन रितिरिवाज तथा धर्म, संस्कृतिको कारणले गर्दा अपवाद बाहेक धेरै बालबालिकाहरु बाधिन पुग्छन् । जसको कारणले गर्दा सानै उमेरमा पारिवारिक जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ साथै धुम्रपान तथा मद्यपान जस्ता कुलतको सेवनमा यस क्षेत्रका अधिकांस मानिसहरु लागेको पाइन्छ तर हाल केहि यूवाहरु रोजगारीको खोजीमा विदेशतिर गएको पाइन्छ ।

यस सेवा क्षेत्र भित्र बसोबास गर्ने केही परिवारहरुको आर्थिक अवस्था ज्यादै नाजुक र दयनिय रहेको छ आर्थिक अवस्था कमजोर हुनुको पछाडी धर्म, संस्कृति तथा रितीरिवाज, रुढीवादी परम्परा नै कारक तत्वको रुपमा रहेकोछ । यसका साथै यहाँका भूमिमा सिचाईको अभाव रहेको कारण आकासे खेतीपाती कृषि कार्य भएकोले पनि आर्थिक अवस्था केहि मात्रामा राम्रो भए तापनि तामाङ्ग, चेपाङ, कामी, दमईहरुले धेरै दुःख गरेर विहान वेलूकी छाक टार्न सक्दछन् । किनभने उनिहरु मध्येबाट ८५% ले आफ्ना बाल बालिकालाई मा.वि र उच्च मा.वि. शिक्षा पुरा गर्ने गराउने भएको हुनाले पनि उनीहरुको आय आर्जन हुने खालको थप क्रियाकलापमा लागि परेका छन् । यूवाहरु केहि मात्रामा रोजगारको लागि विदेशिएका पनि छन्।

विद्यालय सेवा क्षेत्र

  • मनहरी गाउँपालिका वडा नं. १, मकरी, स्कुल चोक
  • मनहरी गाउँपालिका वडा नं. १, तल्लो मकरी
  • मनहरी गाउँपालिका वडा नं. १, चकरी
  • मनहरी गाउँपालिका वडा नं. १, घैयाडाडा
  • मनहरी गाउँपालिका वडा नं. १, पर्ता
  • मनहरी गाउँपालिका वडा नं. १, गोगनपानी
  • मनहरी गाउँपालिका वडा नं. २, च्यापल
  • मनहरी गाउँपालिका वडा नं. ३, सिद्दकाली

विद्यालयमा सञ्चालित कार्यक्रम

मनहरी गाउँपालिका वडा नं. १ स्थित बि.स. २०१९ सालमा स्थापना भएको यस श्री बाल जीवन ज्योति माध्यमिक विद्यालयले बि.स. २०५५ सालमा माध्यमिक तहको अनुमति लिई मिति २०५६ सालमा एस.इल.सि. परीक्षामा समावेश भयो र बि.स. २०७९ सालमा कक्षा ११ को अनुमति प्राप्त गरी बि.स. २०८० सालमा पुःन कक्षा १२ को अनुमति प्राप्त गरी राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा समावेश हुन सफल भएको छ ।

हाल कक्षा वालविकास देखि कक्षा १२ सञ्चालन भइरहेको छ भने कक्षा ११, १२ मा वााणिज्य, मानविकी र शिक्षा संकायमा कक्षाहरु सञ्चालन भइरहेका छन् । साथै यसै शैक्षिक सत्र देखि नै कक्षा वालविकास देखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको छ ।

विद्यालय सेवा क्षेत्रको रैथाने ज्ञान, सिप, शैली

यस विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु आउने समुदाय विशेष गरी कृषिमा आत्मनिर्भर रहेका छन् । यहा सिंचाईको अभावका कारण मौषमे बाली हुने गर्दछ । अधिकांश समुदायमा गाई बस्तु, कुखुरा, बाख्रा, सुङ्गुर इत्यादी पालन गरिन्छ ।

केहि समुदायमा भने परम्परागत सिपहरु जस्तै बाँसबाट डोको, नाङ्ग्लो, डालो बुन्ने, नाम्लो तथा डोरी बुन्ने, हसिया कुटो कोदालो बनाउने कार्य गरिन्छ भने केहि समुदायमा गलैँचा बुन्ने काम समेत गरिन्छ । थोरै मात्रामा सरकारी क्षेत्र जस्तै शिक्षक, निजामती कर्मचारी क्षेत्रमा संलग्नता हुनुहुन्छ भने अधिकांश युवाहरु विदेश पलायन हुनुभएको छ ।

५००+

विद्यार्थीहरू

२०+

दक्ष शिक्षकहरू

%

उत्कृष्ट नतिजा

प्रधानाध्यापक

प्रधानाध्यापकको सन्देश

-एकराज गौतम

"आदरणीय शिक्षकवृन्द, प्रिय विद्यार्थीहरू, सम्मानित अभिभावक तथा विद्यालयका शुभेच्छुकहरू, बाल जीवन ज्योति मा.वि. केवल ज्ञान दिने संस्था मात्र होइन, असल चरित्र, अनुशासन, नैतिकता र जिम्मेवार नागरिक निर्माण गर्ने पवित्र थलो हो। हाम्रो साझा प्रयास, इमानदारी र समर्पणले विद्यालयको गुणस्तर र प्रतिष्ठा अझ उच्च बनाउनेछ। म सम्पूर्ण शिक्षकहरूलाई गुणस्तरीय, सिर्जनशील (सिर्जनात्मक) र विद्यार्थीकेन्द्रित शिक्षामा निरन्तर समर्पित रहन अनुरोध गर्दछु। प्रिय विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन, परिश्रम, समयको सदुपयोग र असल आचरणलाई जीवनको आधार बनाउन आग्रह गर्दछु। साथै, सम्मानित अभिभावकहरूलाई विद्यालयसँग निरन्तर सहकार्य गर्दै आफ्ना बालबालिकाको शैक्षिक तथा नैतिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछु। हामी सबै मिलेर सिकाइको उत्कृष्ट वातावरण निर्माण गरौँ। आधुनिक प्रविधिको सकारात्मक उपयोग गरौँ, वातावरण संरक्षण, सरसफाइ आपसी सम्मान र सामाजिक उत्तरदायीत्व लाई बिधालय संस्कृतिको अभिन्न अंग बनाऔं हाम्रो लक्ष्य केवल परीक्षामा उत्कृष्ट अंक ल्याउनु मात्र होइन,असल,सक्षम,सिर्जनसिल जिम्मेवार नागरिक निर्माण गर्ने हो ।
लक्ष्यहरू
१. पठन पाठनका अतिरिक्त असल, सक्षम, अनुशासित, नैतिकवान् र जिम्मेवार नागरिक निर्माण गर्ने पवित्र थलो विद्यालय भएकोले हाम्रो विद्यालयलाई समयसापेक्ष, गुणस्तरीय, प्रविधिमैत्री निर्माण गर्ने लक्ष्यका साथ हामी अगाडि बढ्नुपर्दछ ।
२. प्रत्येक विद्यार्थीको गुणस्तर सुधार गर्दै सिकाइ उपलब्धि बढाउन अतिरिक्त कक्षा, नियमित मूल्याङ्कन, आधुनिक तथा विद्यार्थीकेन्द्रित शिक्षण विधि, सूचना प्रविधिको प्रभावकारी प्रयोग गरिनेछ, जसबाट विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएको छ ।
३. अनुशासन, नैतिक शिक्षा र सकारात्मक व्यवहारलाई विद्यालयको मुख्य आधार मानिनेछ। विद्यार्थीहरूमा इमानदारी, जिम्मेवारी, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्वको विकास गरिनेछ।
४. शिक्षकहरूको नियमित तालिम, अनुभव आदान-प्रदान, नवीनतम् शिक्षण-सिकाइमा जोड गरी पाठ्यसामग्री/सिकाइ सामग्रीको प्रयोगबाट प्रभावकारी सिकाइ सहजीकरणको वातावरण निर्माण गरी शिक्षकहरूको मनोबल उच्च राखिएको छ।
५. भौतिक पूर्वाधार विकास गरिनेछ; हाल अधुरा भवनलाई पूर्णता दिने, विद्यालय हाताभित्र सरस्वतीको मन्दिर निर्माण गर्ने, सफा र सुरक्षित कक्षाकोठा, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, खेलमैदान र बालउद्यान निर्माण गरी बालमैत्री विद्यालय निर्माण गरिनेछ।
६. खेलकुद, साहित्य, संस्कृति र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीभित्र रहेका अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी सम्मान, प्रोत्साहन र विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासमा जोड दिइनेछ।
७. विद्यालयको आर्थिक पक्ष सुदृढीकरण गर्न शिक्षक, वि.व्य.स., PTA र पूर्वविद्यार्थी सबैको पहलमा अक्षयकोष व्यवस्था गरिनेछ र त्यसबाट प्राप्त ब्याज रकमबाट गरिब, जेहेन्दार र सक्षम विद्यार्थीलाई छात्रवृत्ति साथै विद्यार्थीको शैक्षिक प्रगति/विकासमा लगानी गरिनेछ।
८. विद्यालयलाई पारदर्शी, सुशासन र उत्तरदायित्वलाई आत्मसात् गर्दै यस विद्यालय उत्कृष्ट शैक्षिक संस्था स्थापित गर्न हामी दृढ रहनेछौँ ।
उद्देश्यहरू
१. विद्यालयलाई गुणस्तरीय, अनुशासित र विद्यार्थीमैत्री संस्थाको रूपमा विकास गर्ने,
२. प्रत्येक विद्यार्थीको सिकाइ उपलब्धि (Learning Achievement) निरन्तर सुधार गर्ने,
३. आधारभूत तहमा शतप्रतिशत भर्ना, नियमित उपस्थिति, र कक्षा उत्तीर्ण दर बढाउने,
४. SEE मा उत्कृष्ट नतिजा हासिल गर्ने,
५. आधुनिक प्रविधिमैत्री ICT मा आधारित शिक्षण सिकाइ लागू गर्ने,
६. शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धिमा तालिम तथा कार्यशाला सञ्चालन गर्ने,
७. सफा, सुरक्षित, बालमैत्री, हरियाली विद्यालय बनाउने,
८. पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला र खेलकुद सुविधाहरू विस्तार गर्ने, साथै नर्सिङ कक्षा/प्रथामिक उपचार कक्षा बनाउने,
९. विद्यार्थीका लागि अनुशासन, नेतृत्व, सिर्जनशीलता, नैतिक तथा जीवनोपयोगी सीप विकास गर्न उत्प्रेरणा सम्बन्धी (Motivated) कक्षा सञ्चालन गर्ने。
१०. अतिरिक्त कक्षा, परामर्श कक्षा सञ्चालन गर्ने,
११. खेलकुद, कला, साहित्य, संस्कृति, नवीनतम् सृजना आदिका लागि अतिरिक्त क्रियाकलापलाई निरन्तर प्रोत्साहनमुखी बनाउने,
१२. विद्यालय प्रशासनमा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने,
१३. अभिभावक, पूर्वविद्यार्थी, समुदाय र विद्यालयबिच बलियो साझेदारी विकास गर्ने,
१४. आर्थिक स्रोतको प्रभावकारी परिचालन गर्दै भौतिक पूर्वाधार निरन्तर विकास गर्ने,
१५. विद्यालय छाड्ने दर (Dropout Rate) न्यूनीकरण गर्दै समावेशी र समान अवसरयुक्त शिक्षा सुनिश्चित गर्ने,
१६. विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने。
"
विद्यालय व्यवस्थापन समिति अध्यक्ष

अध्यक्षको सन्देश

-बद्रि प्रसाद उप्रेती(SMC)

"आदरणीय अभिभावक, शिक्षक-शिक्षिका ज्युहरु,प्यारा विद्यार्थी भाइबहिनीहरू, स्थानीय शिक्षाप्रेमी, युवा तथा बुज्रुक सामाजिक व्यक्तित्वहरू! साथै विद्यालय स्थापना कालका ती अग्रज ऐतिहासिक व्यक्तित्वहरू तथा उहाँका परिवारजनहरु, विभिन्न कालखण्डमा यस विद्यालयको सर्वाङ्गीण विकासका लागि सल्लाह-सुझाव सहित चल-अचल सम्पत्ति को योगदान गर्नुहुने दाता तथा दाता-परिवारहरु, (पूर्व विद्यार्थी साथीहरु, शिक्षक-शिक्षिका ज्युहरु, विद्यालय व्यवस्थापन समितिहरु) सम्पूर्णमा न्यानो नम्र नमस्कार! साथै ऐतिहासिक दस्तावेज, वर्तमान अवस्था र सुन्दर भविष्यको परिकल्पनाको सँगालो यस विद्यालयको वेबसाइटमा यहाँहरूलाई स्वागत छ ।
शिक्षा समाजको सर्वाङ्गीण विकासको मेरुदण्ड हो भने विद्यालय त्यसको माध्यम हो, जहाँ आजका बालबालिका भोलिका कर्णधारहरू जीवनको दोस्रो पाठशालाका रूपमा आफ्नो दैनिकीको एक-तिहाइ समय बिताइरहेका हुन्छन्। अतः विद्यालयीय शिक्षा औपचारिक मात्र नभई असल चरित्र, नैतिकवान्, अनुशासित, सामाजिक, व्यावहारिक, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्ने साझा थलो बन्नुपर्दछ। यसै उद्देश्य र विश्वासका साथ विद्यालयको भौतिक सुधार, प्रशासनिक चुस्तता, शैक्षिक गुणस्तर, पारदर्शी व्यवस्थापन र समुदायसँगको सहकार्यलाई अझ मजबुत र सुदृढ बनाउन विद्यालय व्यवस्थापन समिति तन-मन-वचन र अधिकारले भ्याएसम्म लाग्ने प्रतिबद्धता जाहेर गर्दछ। साथै विद्यालयको चौतर्फी विकासमा यहाँहरूको रचनात्मक सुझाव तथा सहयोग सधैँ स्वागतयोग्य रहनेछ। ।"
सहायक प्र.अ.

सहायक प्र.अ.(प्रशासन)को सन्देश

-सुनिल कुमार अर्याल(Web Developers and Digital Designers)

"🌐 वेबसाइट शुभारम्भको अवसरमा शुभकामना सन्देश
सम्पूर्ण आदरणीय अभिभावक, प्यारा विद्यार्थी भाइबहिनीहरू, शिक्षक-कर्मचारी तथा शिक्षाप्रेमी महानुभावहरूमा हार्दिक नमस्कार! आजको यस ऐतिहासिक एवम् गौरवमय क्षणमा हाम्रा अभिभावक, विद्यार्थी तथा सम्पूर्ण समुदायलाई प्रविधिसँग जोड्ने उद्देश्यका साथ विद्यालयको आधिकारिक वेबसाइट शुभारम्भ गर्न पाउँदा म अत्यन्तै हर्षित र गौरवान्वित महसुस गरिरहेको छु। वर्तमान प्रविधिको युगमा डिजिटल माध्यमलाई शिक्षाको प्रभावकारी सेतुका रूपमा अगाडि बढाउनुपर्छ भन्ने सोच, हुटहुटी र निरन्तरको प्राविधिक प्रयासबाट यो वेबसाइटको परिकल्पना साकार भएको हो। शिक्षण पेसासँगै प्रविधिलाई पछ्याउँदै आफ्नै हातले तयार पारेको यो डिजिटल प्लेटफर्म आज यहाँहरूसमक्ष प्रस्तुत गर्न पाउँदा मलाई विशेष आत्मसन्तुष्टि मिलेको छ। यो वेबसाइट केवल एक सूचनाको माध्यम मात्र नभई हाम्रो विद्यालयको समग्र शैक्षिक गतिविधि, भौतिक प्रगति, भर्ना तथा परीक्षा परिणाम, पाठ्यक्रम विवरण एवम् प्रशासनिक सूचनाहरू एकै ठाउँबाट सहजै प्राप्त गर्ने साझा थलो हो। प्रविधिको उच्चतम प्रयोग गरी विद्यालय र घरबीचको दूरी घटाउनुका साथै विद्यार्थीहरूलाई आधुनिक डिजिटल जगतसँग जोड्नु आजको आवश्यकता र हाम्रो दायित्व पनि हो। यस डिजिटल प्लेटफर्मले विद्यालय, विद्यार्थी, अभिभावक र सम्पूर्ण सरोकारवालाहरूबीचको सम्बन्धलाई थप पारदर्शी, मजबुत र जीवन्त बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
💡 रचनात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा यो वेबसाइटलाई अझ बढी उपयोगी, सहज र सूचनामूलक बनाउन यहाँहरूको रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रियाको सधैँ स्वागत गरिनेछ। आफ्ना अमूल्य विचारहरू निर्धक्क भई साझा गरिदिनुहुन म सम्पूर्ण पाठकवर्गमा हार्दिक अनुरोध गर्दछु। अन्त्यमा, यस वेबसाइटको सोचलाई साकार पार्ने क्रममा प्राविधिक डिजाइन र कोडिङका हरेक चरणहरू पार गर्दै यहाँसम्म पुर्‍याउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हौसला र सहयोग पुर्‍याउनुहुने सम्पूर्ण शिक्षक-कर्मचारी, एवम् विद्यालय व्यवस्थापन समितिसमक्ष हार्दिक आभार प्रकट गर्दछु। ।"
सहायक प्र.अ.

सहायक प्र.अ.(शिक्षा)को सन्देश

-श्रीकृष्ण अधिकारी

"प्रिय विद्यार्थीहरू, आदरणीय अभिभावकज्यूहरू, सम्माननीय शिक्षक–शिक्षिका तथा विद्यालय परिवार, हाम्रो विद्यालयले गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षामार्फत सक्षम, अनुशासित, नैतिक तथा जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ निरन्तर कार्य गर्दै आएको छ। यस अभियानमा शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको सक्रिय सहयोग र सहभागिता अत्यन्त महत्वपूर्ण रहेको छ। विद्यार्थीहरूलाई सिर्जनशील, आत्मविश्वासी र जिम्मेवार बनाउन विद्यालयले शैक्षिक, अतिरिक्त तथा सहपाठ्यक्रियात्मक गतिविधिलाई समान महत्व दिएको छ। हामी सबै विद्यार्थीलाई नियमित अध्ययन, अनुशासन, परिश्रम र असल आचरण अपनाई आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्दछौँ। यस विद्यालयप्रति विश्वास र सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति, शुभेच्छुक तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आगामी दिनमा समेत निरन्तर सहयोग र सद्भावबाट विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न सफल हुने विश्वास लिएको छु। ।"

हाम्रो परिकल्पना (Vision)

सबैका लागि समतामूलक, प्रतिस्पर्धी र जीवनोपयोगी शिक्षा प्रदान गर्ने केन्द्र बन्ने।

हाम्रो लक्ष्य (Mission)

आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिद्वारा शैक्षिक स्तरलाई उच्च बनाउने।

मुख्य उद्देश्य (Objectives)

विद्यार्थीको चौतर्फी विकासका साथै उनीहरूलाई चरित्रवान नागरिक बनाउने।

शैक्षिक कार्यक्रमहरू

हाम्रो विद्यालयमा प्रारम्भिक बाल विकासदेखि माध्यमिक तहसम्म पढाइ हुन्छ।

प्रारम्भिक बाल विकास (ECD)

खेलकुद विधिबाट अध्यापन

रमाइलो र सुरक्षित वातावरण

विशेष हेरचाह र बालमैत्री कक्षा

आधारभूत तह (कक्षा १–८)

राष्ट्रिय पाठ्यक्रममा आधारित

अंग्रेजी तथा नेपाली माध्यम

कम्प्युटर शिक्षाको सुरुवात

माध्यमिक तह (कक्षा ९–१०)

SEE परीक्षा केन्द्रित तयारी

नियमित प्रयोगात्मक कक्षाहरू

विशेष परामर्श तथा ट्युसन

कक्षा ११–१२

व्यवस्थापन (Management)

शिक्षा शास्त्र (Education)

नयाँ पाठ्यक्रम अनुसार कक्षाहरू

भौतिक तथा शैक्षिक सुविधाहरू

विद्यार्थीहरूको उत्कृष्ट सिकाइका लागि उपलब्ध सुविधाहरू।

सुविधायुक्त पुस्तकालय

पाठ्यपुस्तकका अतिरिक्त ज्ञानवर्धक र साहित्यिक पुस्तकहरूको व्यवस्था।

विज्ञान प्रयोगशाला

भौतिक, रसायन र जीव विज्ञानका लागि छुट्टाछुट्टै आधुनिक प्रयोगात्मक सामग्री।

कम्प्युटर ल्याब

इन्टरनेट सुविधा सहितको आधुनिक कम्प्युटर ल्याब र DIGITAL सिकाई।

खेलकुद तथा खेलमैदान

भलिबल, फुटबल र अन्य अतिरिक्त क्रियाकलापका लागि ठूलो खेलमैदान।

स्वच्छ खानेपानी

विद्यार्थी तथा शिक्षकहरूका लागि युरोगार्ड सहितको शुद्ध र स्वच्छ पिउने पानी।

सरसफाइ तथा शौचालय

छात्र र छात्राका लागि छुट्टाछुत्तै अपाङ्गमैत्री र वातावरणमैत्री शौचालयको व्यवस्था।

नवीनतम सूचनाहरू

थप हेर्नुहोस्मा क्लिक गर्नुहोस्...

थप हेर्नुहोस्मा क्लिक गर्नुहोस्...

थप हेर्नुहोस्मा क्लिक गर्नुहोस्...

थप हेर्नुहोस्मा क्लिक गर्नुहोस्...

AI र ICT शिक्षा प्रवर्द्धन

आधुनिक डिजिटल युगको गतिसँगै विद्यालयले विद्यार्थीहरूमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी ज्ञान विकासमा जोड दिइने छ।

AI तथा स्मार्ट सिकाई (Smart Learning)

शिक्षण सिकाइ प्रक्रियामा AI टुलहरूको सही प्रयोग र डिजिटल एनिमेसन मार्फत कठिन विषयहरूलाई सहज बनाउने प्रयास।

आधारभूत कोडिङ र कम्प्युटर साक्षरता

विद्यार्थीहरूलाई प्रविधिको केवल प्रयोगकर्ता मात्र नबनाई सिर्जनशील बनाउन आधारभूत प्रोग्रामिङ र तार्किक क्षमता अभिवृद्धि कक्षाहरू संचालन गर्ने सोच बनाइएको छ ।

साइवर सुरक्षा (Cyber Security)

इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित, मर्यादित र सिर्जनशील प्रयोगका बारेमा नियमित सचेतना कार्यक्रम।

हाम्रो फोटो ग्यालरी

विद्यालयका केही झलक तथा अतिरिक्त क्रियाकलापहरू।

पोषण प्रदर्शनी १
पोषण प्रदर्शनी २
पोषण प्रदर्शनी ३

हामीलाई सम्पर्क गर्नुहोस्

थप जानकारी वा सोधपुछका लागि विद्यालयको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।

ठेगाना

मकरी, मनहरी-१, मकवानपुर, नेपाल

फोन नम्बर

९८४५६८७८३५, ९८५५०७२९३०

इमेल ठेगाना

baljivanjyotimabi@gmail.com

Web Developers and Digital Designers

सुनिल कुमार अर्याल(सहायक प्र.अ.)

९८५५०७२९३० | aryalsunil026@gmail.com

सुनिल कुमार अर्याल

सूचना अधिकारी

D.B. Aryal

D.B. Aryal


लेखापाल

९८४५१६२६२२